काठमाडौं : विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’
ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’
प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’
प्रायः ग्राउन्डेड
बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो। अन्तर्राष्ट्रिय उडानको वाइडबडी एक सातादेखि ग्राउन्डेड छ। बन्न केही दिन लाग्न सक्छ। बोइङ ७५७ एक वर्षदेखि ‘कुवाएर’ राखिएको छ। बिक्री गर्न चाहे पनि बिकेको छैन। दुईमध्ये अर्को बोइङ भने बीबी एयरवेजलाई बिक्री गरिसकेको छ।
आन्तरिकतर्फ नौ जहाज छन्, तीनवटा मात्रै उडानमा छन्। निगमले सबैभन्दा साख बिगारेको क्षेत्र आन्तरिक हो। तिनमा ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन्। तीमध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको जानकारी प्रवक्ता गणेशबहादुर चन्दले दिए।
निगमले चीनबाट अनुदानमा ल्याएको एक र खरिद गरेको अर्को एक एमए ६० जहाजमध्ये एउटा मात्रै उड्ने गरेको छ। सुरुको एक साता दुइटै जहाज मुस्किलले उडेका थिए। त्यसयता कहिल्यै एकसाथ उडेका छैनन्। बिग्रिरहने र एउटाको पाटपुर्जा झिकेर अर्कामा राख्नुपर्ने निगमले जनाएको छ। चिनियाँ कम्पनीले मागेको समयमा पाटपुर्जा उपलब्ध गराउँदैन। एउटा सामान मागेको खण्डमा आउन महिनौं लाग्ने गर्छ। त्यही भएर एउटाका सामान जोगाएर अर्को चलाउने गरिन्छ। ‘दुनियाँमा यस्तो कहाँ होला ? ’, निगमकै वरिष्ठ एक इन्जिनियर आश्चर्य व्यक्त गर्छन्।
त्यस्तै, निगमलाई अनुदानमा आएको एक र खरिद गरेका तीनवटा वाई १२ मध्ये दुइटा मात्रै उडाएर दुइटा थन्क्याउने गरिएको थियो। अर्को एउटा पनि ग्राउन्डेड भएको छ। सञ्चालनमा छ– एउटा मात्र। ती जहाजमा पाँच वर्षका लागि राखिएका अक्सिजन सिलिन्डरको समय सकिएको छ, फेरि राख्नुपर्ने भएको छ। तीनवटै जहाजमा एकैपटक यो समस्या देखिएकाले उडाउन नसकिएको निगमले जनाएको छ।
निगमका तीनवटा ट्विनअटरमध्ये एउटा करिब पाँच वर्षदेखि थन्किएको छ। बाँकी दुईमध्ये एउटा मात्रै उडानमा छ। एउटा भने मर्मतमा रहेको निगमको दाबी छ। भएका जहाजमा पनि नियमित उडान नहुने भएकाले सेक्टर तथा तालिका कटौती गरिएका छन्। यो खबर अन्नपुर्ण पोस्टमा छ ।