काठमाडौँ: मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ।
पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।
बुधबार पत्रकार सम्मेलन गरी ब्युरोले घटनाबारे जानकारी गराएको हो।
भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।
उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ।
ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो।
थपलियाका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए।
तीन महिनाअघि भएको सो घटनाबारे सूचना पाएपछि एक महिनायता प्रहरी अनुसन्धानमा जुटेको थियो।
घटनाबारे अनुसन्धान भइरहेकाले मिर्गौला कसको झिकिएको हो? भन्नेबारे प्रहरीले खुलाएको छैन।
मिर्गौला दिने व्यक्ति र लिने व्यक्ति आफन्त हुनुपर्छ र स्वीकृतिको कागजात तयार भएपछि मात्र मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढ्छ।
आलेले नक्कली आफन्त खडा गरेर कागजात तयार पारेको प्रहरीको भनाइ छ।