काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेकी छिन्। आज बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशका प्रमुखहरुलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखलाई बर्खास्त गरिएको राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले जनाए। यस अघि शेरबहादुर तामाङ कानून मन्त्री हुँदा पनि प्रदेश प्रमुखहरुलाई हटाउने सहमति भएपनि हटाउन सकिएको थिएन।
२०७४ साल माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुखहरुको नियुक्त गरेको थियो।
प्रदेश १ मा गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदुरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।