काठमाडौँ: चालू आर्थिक वर्ष २०७६ /७७ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट २७ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।
भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७५ /७६ को पहिलो तीन महिनाको तुलनामा आर्थिक वर्ष २०७६ /७७ को तीन महिनामा नेपालको ब्यापार घाटा १२ दशमलब ०२ प्रतिशतले कमि आएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १० दशमलब ३७ प्रतिशतले घटेको छ भने निर्यात १४ दशमलब ४१ प्रतिशतले बृद्दि भएको छ ।
निर्यातको तुलनामा आयातमा भारी कमि हुँदा समीक्षा अवधिमा ब्यापार घाटामा कमि आएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार ८ दशमलब ८६ प्रतिशतले कमि भई ३ खर्ब ६२ अर्ब पुगेको छ ।
सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग एक खर्ब ८९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा ५८ अर्ब रहेको छ ।
समीक्षा आवधिमा नेपालबाट भारतमा १७ अर्ब ८७ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा २ खर्ब ७ अर्ब बराबरको सामान आयात भएको छ ।
त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा ४५ करोड बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा ५९ अर्ब बराबरको सामान आयात भएको छ ।