विराटनगर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताउनुभएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा आज यहाँ आयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री भट्टराईले विराटनगर विमानस्थलको एक हजार ५०० मिटरवाट दुई हजार ५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उहाँले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौँसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको छ भन्नुभयो ।
मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट बङ्गलादेशको शहीदपुर उडान चाँडै शुरु गर्ने सोचका साथ सरकारले आवश्यक गहृकार्य गरिरहेको उल्लेख गर्दै ठूलो जनसङ्ख्यामा रहेको भारतीय पर्यटकलाई ध्यानमा राखेर यहाँबाट दिल्ली र कोलकत्ता उडान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले निजी क्षेत्रको सहकार्यमा विमानस्थलको सञ्चालन गर्ने नीति सरकारको छ भन्दै उहाँले उद्यमीको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने हुनाले ढुक्कसाथ लगानी गर्न आह्वान गर्नुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिनाभित्र गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु्भयो ।
उहाँले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिँदै विराटनगरबाट लुक्काका साथै हिमाली उडानमा सबैको सहयोग रहने बताउनुभयो ।
उहाँले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र भएको प्रदेश नं १ मा यसको विकासबाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै तीव्रगतिमा आर्थिक विकासका लागि सबैसँग सहकार्य गर्ने धारणा व्यक्त गर्नभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आवश्यक जग्गा अधिग्रहण गरी विमानस्थलको धावन मार्ग तीन हजार मिटर बनाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलको विकास गर्नुपर्र्नेमा जोड दिनुभयो ।