रुपन्देही : ऊर्जामा पहुँच वृद्धि गर्ने उद्देश्यले प्रदेश नं ५ को नवीकरणीय ऊर्जा लगानी सम्मेलन आज रुपन्देहीमा सम्पन्न भएको छ ।
प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको संयुक्त आयोजनामा मणिग्राममा गरिएको लगानी सम्मेलनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशमा लगानीको वातावरण बनेकाले ढुक्क भएर ऊर्जाको क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । “हामिसँग ऊर्जा उत्पादन कम छ, प्रदेशमा ३६ किलोवाट मात्रै विद्युत् उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “विद्युत्मा सबैको पहुँच बढाउन ऊर्जामा लगानी आवश्यक छ ।”
प्रदेशमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको बताउँदै उहाँले उद्योगी व्यवसायीहरुको छानामा सोलार प्रविधि जडान गरि उत्पादित ऊर्जाको खपतले उद्योग उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री चौधरीले विदेशी मुलुकमा समेत सौर्य ऊर्जा सफल देखिएकाले लगानी गरेर भरपूर फाइदा उठाउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । प्रदेशका १९ प्रतिशत घरधुरी अझै पनि अध्यारोमा रहेको जानकारी गराउँदै उहाँले त्यस्ता ठाउँमा सौर्यबत्ती जडान गरेर भए पनि उज्यालो पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुरमोहमद खाँले सौर्य ऊर्जाको प्रवद्र्धनका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सौर्य नेट मिटरिङ प्रणाली जडान तथा लगानीबारे प्रस्तुती गर्दै नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका प्रमुख डगलस हेनिरिक्सले सरकार तथा निजी क्षेत्रलाई न्यून कार्बन उत्सर्जनसम्बन्धी परियोजनामा लगानी बढाउन कार्यक्रमले अभिप्रेरित गर्ने बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जामा निजी तथा सार्वजनिक स्रोतमार्फत रु पाँच अर्बभन्दा बढी वित्तीय स्रोतको परिचालन गर्ने नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको लक्ष्य अनुरुप कार्यक्रम अघि बढाएको बताउनुभयो । नेपाल नविकरणीय ऊर्जा कार्यक्रमका प्रतिनिधि बद्रीनाथ बरालले यस्ता वातावरण मैत्री परियोजनाको लगानीमार्फत गरिबी न्यूनीकरण र आर्थिक समृद्धिमा टेवापुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
विसं २०७५ माघमा शुरु भएको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम २०८० को असार मसान्तमा अन्त्य हुनेछ । यस कार्यक्रमअन्तर्गत प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न क्रियाकलाप कार्यान्वयन गरिनेछ । नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमले १६ मेगावाट क्षमताको नवीकरणीय ऊर्जा उत्पादन, ९५ हजार घरधुरी, ५०० साना व्यवसाय, २०० विद्यालय र स्वास्थ्य केन्द्रमा नवीकरणीय ऊर्जाको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।