चितवन: नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको भन्दै संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।
‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो,’ उनले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’
आजदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने संघले जनाएको छ ।
सङ्घका अध्यक्ष पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने बताए ।
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए ।
यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उहाँको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।