काठमाडौँ: सर्वोच्च अदालतको आदेशपछि संघीय सरकारले ‘जनयुद्ध दिवस’ मा फागुन १ गते दिइँदै आइएको बिदा कायम नरहेको सूचना जारी गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्।
यो पनि: भोलि सार्वजनिक बिदा दिइएको छैन: गृह मन्त्रालय
संघीय सरकार नेकपा (माओवादी केन्द्र) कै नेतृत्वमा छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन्।
सर्वोच्च अदालतले पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।
सर्वोच्चको आदेशपछि संघीय सरकारले ‘जनयुद्ध दिवस’ मा बिदा नदिएको हो।
तर माओवादी केन्द्रले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’ मा धमाधम बिदा दिइएको छ।
गोरखाका गण्डकी, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा र धार्चे गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिएको सूचना नै जारी गरेका छन्। यी पालिका प्रमुख माओवादी केन्द्रले जितेको थियो।
माओवादीले नै जितेका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र शहिदलखन गाउँपालिकाले भने सोमबार अपराह्नसम्म बिदाको सूचना निकालेका छैनन्।
कालिकोटका पाँच स्थानीय तहले ‘जनयुद्ध दिवस’ मा मंगलबार बिदा दिएका छन्। खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, पतला गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्। यी पालिका प्रमुख माओवादीले जितेका थिए।
सल्यानको दार्मा गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’ मा बिदा दिएको छ। माघ २८ गते उपाध्यक्ष जुना मल्ल चन्दले विज्ञप्ति निकालेर फागुन १ गते बिदा दिइएको उल्लेख गरेकी छन्। यो पालिका माओवादीले जितेको थियो।
रोल्पाको माडी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’ बिदा दिएको छ। गत माघ २४ गते नै सूचना निकालेर गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको थियो।
रोल्पाकै रोल्प नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ।
नगर प्रमुख सुरेन्द्र थापा घर्तीले गत माघ २५ गते नै सूचना निकालेर ‘स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी स्थानीय तहको निर्णयबाट फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको’ उल्लेख गरेका छन्।
दाङको बंगलाचुली गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’ मा फागुन १ गते बिदा दिएको छ।
काभ्रेको चौंरी देउराली गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ। निमित्त प्रशासकीय अधिकृत विष्णु चौलागाईले माघ २५ गते सूचना निकालेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेका थिए।
धादिङको गजुरी गाउँपालिकामा बिदाबारे विवाद देखिएको छ।
अध्यक्ष गणेशलाल श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर ‘जनयुद्ध दिवस’ मा फागुन १ गते बिदा दिइएको उल्लेख गरेका छन्। तर उपाध्यक्ष शर्मिला विसुरालले विज्ञप्ति जारी गर्दै बिदा दिनेबारे कुनै छलफल नभएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेकी छन्।