काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आम्दानी घटेको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आई रु.१५३ अर्ब ७३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई रु.१७६ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा
जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।